एजेन्सी- अफ्रिका कप नेसन्समा आइभोरी कोस्टले दक्षिण अफ्रिकालाई हराएको छ । सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले दक्षिण अफ्रिकालाई १-० ले पराजित गरेको हो ।

जोनाथन कोड्जियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६४औं मिनेटमा जोनाथन कोड्जियाले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाए ।

उनले म्याक्स एलाइन ग्राडेलको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा आइभोरी कोस्ट १-० ले विजयी हुन सफल भयो ।

जितसँगै आइभोरी कोस्ट ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै भएपनि मोरोक्को दोस्रो स्थानमा रहेको छ । अंक विहीन नामिविया र दक्षिण अफ्रिका तेस्रो र चौथोमा छ ।