ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्डकपका लागि टिकट बिक्रीको जिम्मेवारी मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वाले लिम्बूले पाएका छन् ।
उनले ठेक्का प्रक्रियामार्फत टिकट बिक्रीको जिम्मेवारी पाएका हुन् । २० लाख एक हजार बुझाउने सर्तमा लिएको जिम्मेवारीअनुसार आइतबार आयोजकसँग सम्झौता भएको छ । फुङलिङ नगरपालिका ४ वडा कार्यालयमा वडाध्यक्ष दुर्गा पालुङवाको रोहबरमा सम्झौता गरिएको हो ।
पहिलो चरणमा उनले ७५ प्रतिशत रकमबराबरको १५ लाख ७५० रुपैयाँ बुझाएर सम्झौता गरेको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम फाइनल खेल हुनुअघि बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ ।
प्रतियोगिताका दर्शकले क्वाटर फाइनलका चार खेलका लागि एक सय, सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनलमा २५० रुपैयाँ बुझाएर प्रवेश पाउने छन् । सम्झौतामा लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेन, कोषाध्यक्ष दावा शेर्पा, पूर्व अध्यक्ष नारान थापा लगायतको उपस्थिति रहेको थियो ।
गतवर्ष गोल्डकपमा २३ लाख ,७६ हजार छ सय रुपैयाँको टिकट बिक्री भएको थियो । १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको फाइनलमा एकैदिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।
गोल्डकपको तेस्रो संस्करण यही साउन २३ गतदेखि ३१ गतेसम्म स्थानीय भानुजन माविको खेलमैदानमा आयोजना हुँदैछ । यस संस्करणको विजेता टिमले ७ लाख २ हजारसहित ट्रफी पाउने छ ।