काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कञ्चनपुरको कभर्डहल क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसंगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता सुदुरपश्चिमले ३ लाख प्राप्त गर्यो ।सुदुरपश्चिमले दिएको ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा इन्दु बर्माले २२, सिता राना मगरले १८ ताता ज्योति पाण्डेले १७ रन जोडिन । सुदुरपश्चिमकी जानकी भट्टले २ विकेट लिईन् ।यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभर खेल्दै ९ विकेट गुमाएर ७१ रन बनाएको थियो । सुदुरपश्चिमका लागि रुबी पोदारले २४ तथा कविता कुँवरले २२ रन बनाईन् । एपीएफकी करुणा भण्डारी र सिता रानामगरले समान ३र३ विकेट लिईन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी एपीएफकी सिता राना मगरले ३० हजार जितिन् । प्रतियोगितामा वेष्ट बलर प्रदेश नम्बर ३ की खुसी डंगोल र वेष्ट ब्याट्सवुमन कविता कुँवर भईन् । उत्कृष्ट हुनेले समान १५-१५ हजार प्राप्त गरे । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५-१५ हजार पाउने आयोजकले जनाएको छ ।यसअघि एपीएफले प्रदेश १ लाई हराएर फाइनल पुगेको थियो । यस्तै वर्षाको कारण सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द हुँदा समूह विजेताको रुपमा सुदुरपश्चिम फाइनल पुगेको थियो । महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।