झापा । नेपाल कराते महासंघको मुख्य प्रशिक्षकमा एक साताअघि नियुक्त भएका झापाका कराते प्रशिक्षक मदनकुमार उप्रेतीलाई अर्जुनधाराका डोजोले बिहीबार सम्मान गरेका छन् ।अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे कराते डोजो र पुलचोक कराते डोजोले मुख्य प्रशिक्षक उप्रेतीलाई छुट्टा छुट्टै सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक उप्रेतीले कराते खेलको मुख्य प्रशिक्षकको रुपमा उभिन पाउँदा खुसी व्यक्त गरे । कराते महासंघभित्र २२ वटा खेल विधा छन्, उनी त्यसको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका हुन् ।यसअघि मुख्य प्रशिक्षकका रुपमा शोभितराज प्रसाई थिए । उनले राजीनामा दिएपछि उप्रेती सर्वसम्मतरुपमा मुख्य प्रशिक्षकमा चयन भएका हुन् । उप्रेतीको अवधि १४ महिना रहेको बताइएको छ । ‘यस अवधिमा १३औँ साफ गेमको तयारी गर्नुछ’, उनले भने, ‘परिस्थिति जटिल छ, थोरै समयमा धेरै काम गर्नुछ ।’

प्रदेश सांसद बृख प्रधानको प्रमुख आतिथ्य तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको उपस्थितिमा भएको कार्यक्रममा मुख्य प्रशिक्षक उप्रेतीले मार्सलआर्टलाई प्रदेशको मुख्य खेलको रुपमा अघि बढाउन आग्रह गरे ।’खेललाई हार जीतमात्र होइन, समाज सुधार्ने र अनुशासन दिलाउने खेलको रुपमा लिइनुपर्छ’, उनले भने । निश्चित आचारसंहिता बनाएर प्रदेशमा मुख्य खेलको रुपमा मार्सलआर्टलाई लैजान सकिने उनको भनाइ थियो ।प्रदेश सांसद प्रधानले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्दै उप्रेतीलाई बधाई दिए । कराते खेलको उच्च स्थानमा पुगेपछि यो उपलब्धीले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइ थप्न उनको शुभकामना थियो ।नगर प्रमुख रानाले पनि झापाली प्रशिक्षकले कराते खेलको उच्च स्थान पाएकोमा खुसी व्यक्त गरे । नेपालका लागि करोत खेलका संस्थापक थानेश्वर राई हुन् ।

मुख्य प्रशिक्षक उप्रेतीलाई अतिथिलगायत शनिश्चरे डोजोका प्रशिक्षक तथा एकेएफ रेफ्री कुमार उप्रेती, पुलचोकका प्रशिक्षक जीवन राई, पूर्व खेलाडी श्याम दनुवार, उसुका प्रशिक्षक डम्बर यादव, तेक्वान्दो प्रशिक्षक कुमार भट्टराईलगायतले खादा र अविर लगाएर सम्मान गरेका थिए ।मुख्य प्रशिक्षक उप्रेतीले पनि शनिश्चरे डोजोमा प्रशिक्षण लिइरहेका खेलाडी र अन्य महानुभावलाई अविर लगाइदिएर स्वागत गरेका थिए । शनिश्चरे कराते डोजोको हलमा भएको सम्मान तथा बधाई कार्यक्रमको सञ्चालन डोजोका प्रशिक्षक कुमार उप्रेतीले गरेका थिए ।