झापा । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार बिहानदेखि सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणसमेत बिहीबारै सुरु गरिँदैछ । वैशाख मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने तयारी छ ।
यस पटक ५ लाख १२ हजार ४२१ विद्यार्थीले एसईई दिँदै छन् । २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । १ हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ । जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थीले परीक्षा लेख्दैछन् ।
केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ ।
उत्तरपुस्तिका परीक्षण बिहीबारै सुरु हुनेछ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको शिक्षा सचिव चूडामणि पौडेलले जानकारी दिए ।