बिर्तामोड । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले फुटबल खेलको विकासमा लागेका नेताको छाती ठूलो हुनुपर्ने बताएका छन् ।
सी डिभिजनमा परेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष गुरुङले फुटबल खेलको नेता हुन ठूलो छाती चाहिन्छ भन्दै सबैलाई अटाउन सक्नुपर्नेमा जोड दिए ।
‘फुटबलको विकास गर्छु भनेर नेतृत्व गर्नेले यहाँ खेल, त्यहाँ नखेल भन्न मिल्दैन’, उनले वर्तमान फुटबल संघको नेतृत्वप्रति इङ्गित गर्दै भने, ‘विकास गर्ने नारा लिएर खेलाडीलाई फुटबल खेल्न नदिनु विडम्वना हो ।’ रातारात चलखेल गरेर फुटबल खेलमा निषेधको राजनीति गरिनु दुःखद् भएको भन्दै उनले भने, ‘त्यस्तो व्यक्ति नेता होइन, व्यापारी हो जसले हिसाबमात्र खोजेर हिँड्छ ।’

सधैँभन्दा फरकरुपमा प्रस्तुत भएका झापा गोल्डकपका संरक्षकसमेत रहेका गुरुङले खेलप्रेमी सबैलाई मनभित्र अटाउने ठुलो छाती भएको नेता आजको आवश्यकता रहेको बताए । पहिलोपटक काठमाडौँको शहीद स्मारक लिग फुटबल छनौट प्रतियोगितामा सहभागी भएर सी डिभिजनमा उक्लन सफल झापा फुटबल क्लबका खेलाडीलाई शुभकामना दिँदै उनले बाल्यकालमा सुनेको भनाइ यसरी सम्झिए, ‘बाघ भनेको बाघ नै हो, स्याल कहिले बाघ बन्न सक्दैन ।’
झापाका नयाँ खेलाडीले सी डिभिजनमा परेर इतिहास रचेको बताएका उनले काठमाडौँका खेलाडी र क्लबले मात्र डिभिजन लिग खेल्छन् भन्ने दम्भ हटेको उल्लेख गरे । सी डिभिजनमा छनौट हुनु भनेको खेलाडीका लागि पनि अवसर भएको बताउँदै उनले अब झापाली फुटबललाई पनि सिस्टममा लैजाने प्रयास गरिएको पनि उल्लेख गरे ।
सोही कार्यक्रममा उनले झापा गोल्डकपमा सहयोग पुराउने राजकुमार श्रेष्ठ, देवीमाया श्रेष्ठ, चेतप्रसाद सुवेदी, टिकामाया अधिकारी र मुना भट्टराईलाई झापा ११ एफसीको तर्फबाट जनही ५ हजारसहित विशेष सम्मान प्रदान गरे ।
तस्वीर : इन्द्रजित मुखिया