सुरुङ्गा । मन्टेसोरी एसोसिएसन अफ झापा (माज)द्वारा शुक्रबार सुरुङ्गामा आयोजित झापा जिल्लास्तरीय किड्स क्वीज कन्टेस्टमा बिर्तामोड-३ स्थित लोटस प्रि-स्कुल एन्ड चाइल्ड केयर सेन्टर प्रथम भएको छ । झापाका १५ वटा मन्टेश्वरीबीच गराइएको प्रतियोगितामा स्पेलिङ, म्याथमेटिक्स, आईक्यू, कलर तथा भिज्युल र सामान्य ज्ञान राउन्ड राखिएको प्रश्नको सही जवाफ दिँदै लोटस प्रथम भएको हो ।युकेजी तथा एलकेजीमा अध्ययनरत् विद्यार्थीबीच गराइएको प्रतियोगितामा कनकाई-३ स्थित हाम्रो पाठशाला मन्टेश्वरी दोस्रो र बिर्तामोड १ स्थित बाल संसार प्रि-स्कुल तेस्रो भएको छ ।

कार्यक्रमको उद्घाटन कनकाई नगरपालिकाका नगर शिक्षा प्रमुख तथा सहसचिव पिताम्बर गौतम र संस्थाका अध्यक्ष रामकुमार तामाङले संयुक्त रुपमा गरेका थिए । नगर शिक्षा प्रमुख गौतमले एउटै उद्देश्य साथ सञ्चालनमा आएका विद्यालयहरु संगठित भएर सानैदेखि नानीबाबुहरुको प्रतिभा उजागरमा लागि परेकोप्रति प्रशंसा व्यक्त गरे । उनले अहिलेका बालबालिका फरक प्रकृतिका भएकाले विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै संस्थाका सचिव पदम सुब्बाले स्वागत मन्तव्य राखेका थिए । उनले सम्भवतः नेपालमै पहिलोपटक कक्षा युकेजी र एलकेजीका नानीबाबुहरुबीच हाजिरीजवाफ प्रतियोगिता गराइएको बताए । समापन मन्तव्य राख्दै अध्यक्ष तामाङले सहभागी विद्यार्थीमा प्रतिस्पर्धी भावनाभन्दा मनोरञ्जनको रुपमा लिएर मन्टेसोरीबीच भावनात्मक सम्बन्ध जोड्न संस्थाले विभिन्न कार्यक्रमको योजना बनाएको जानकारी दिए । कार्यक्रमको सञ्चालन स्मार्ट मन्टेसोरी हल्दीबारीका आइतराज लिम्बूले गरेका थिए ।

प्रतियोगितामा विजेतासहित बिर्तामोडको किड्स जोन मन्टेसोरी, टाइनी टट्स किन्डर होम, बेबील्यान्ड, मारिया मन्टेसोरी किड्स जोन, पाथिभरा चाइल्ड केयर सेन्टर, होली किड्स मन्टेसोरी, चेरी बड मन्टेसोरी, लाइफ लाइट किन्डर जोन, कनकाईको ह्याप्पी किड्स, स्मार्ट इन्टरनेसनल एजुकेसन फाउन्डेसन, अर्पना इङलिस स्कुल र हल्दीबारीको स्मार्ट इन्टरनेसनल एजुकेसन फाउन्डेसनका विद्यार्थीको सहभागिता रहेको थियो ।