चन्द्रगढी । ११औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिको आयोजनामा हुने तीन दिवसीय प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् ।
प्रतियोगितामा स्थानीय तहस्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने खेलाडी र टिमबीच एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययनरत १८ वर्षमूनीका विद्यार्थीहरुले भाग लिँदै आएका छन् ।
स्थानीय तहस्तरीय सो प्रतियोगिताबाट छनौट भएका छात्र तथा छात्रा खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने र उक्त प्रतियोगितामा छानिएकाले प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिती झापाका अध्यक्ष शंकर थापाले जानकारी दिए ।
सोही कार्यक्रममा जिल्ला खेलकूद विकास समितिले अक्षय कोष स्थापना गरी त्यसको ब्याज रकमबाट प्रत्येक वर्ष एक जना खेलाडीलाई सम्मान गर्ने गरी भानु साहित्यिक प्रतिष्ठान झापालाई नगद ३ लाख रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय खेलकूद परिषद्ले निर्धारण गरेका मापदण्डका आधारमा देशभरका जिल्ला खेलकूद विकास समितिमध्ये उत्कृष्ट घोषणा हुँदै झापाले सम्मान स्वरुप प्राप्त गरेको उक्त नगद राशि प्रतिष्ठानलाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीलाई प्रमुख अतिथि पोर्तेल र जिल्ला खेलकूद विकास समिति अध्यक्ष थापाले नगद हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रशिक्षकहरु जुडोका गंगाबहादूर खड्का, क्रिकेटका वीरु श्रेष्ठ, ब्याडमिन्टनका दिनेश राई, फुटबलका युगलकिशोर राई, कबड्डीका मेनुका राजवंशी, कराँतेका जमुना राई, महिला फुटबलका अस्मिता खवास, खो–खोका जय राजवंशी, करातेका सौरभ प्रधान, बुद्धिचालतर्फ पुनम प्रसाईं, शारीरिक सुगठनतर्फ रामबहादुर दाहाल, उमेश राई, हर्कबहादूर राई र चन्द्रकुमार लिम्बू र झापा फुटबल क्लव अध्यक्ष गजेन्द्र पौडेललाई नगदराशीसहित सम्मान गरिएको थियो ।
प्रतियोगिता उद्घाटनका अवसरमा लिम्बू र सन्थाल जातीको साँस्कृतिक पहिचान झल्काउने झाँकी र सहभागी खेलाडीहरुबाट मार्चपास र जुडो तथा उसु खेल प्रदर्शन गरिएको थियो ।