एजेन्सी । संयुक्त राज्य अमेरिकाले फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिका च्याम्पियन बनेको हो । लियोनमा अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको हो । खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा रोजले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाईन् ।
योसंगै अमेरिकाले कीर्तिमानी चौंथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ । अमेरिकाको यो लगातार दोस्रो विश्वकप उपाधि समेत हो । यसअघि अमेरिकाले सन् १९९१, सन् १९९९ र २०१५ मा उपाधि जितेको थियो ।
मेगानले जितिन् ‘गोल्डेन बल र बुट’

अमेरिकाकी मेगान रापिनोईले फ्रान्समा सम्पन्न फिफा महिला विश्वकप फुटबलमा ‘गोल्डेन बुट’ अवार्ड जितेकी छिन् ।
अमेरिकालाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी मेगानले ‘गोल्डेन बुट’ जितेकी हुन् । उनले प्रतियोगिताभर सर्वाधिक ६ गोल गरेकी थिईन् । यस्तै मेगानले उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ अवार्ड समेत जितेकी छिन् ।
यस्तै गोल्डेन ग्लोभ्स अवार्ड नेदरल्याण्डकी सारी भानले जितिन् । जर्मनीकी गीउलिया ग्विन्नले युवा खेलाडीको अवार्ड जितिन् । यसै फ्रान्सले फेयर प्ले अवार्ड हात पारेको छ ।