एएफपी/लन्डन- लर्ड्समा बंगलादेशविरुद्धको जितपछि पाकिस्तानी ब्याट्सम्यान सोएब मलिकले आफ्नो बिदाई खेलबिना नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । मलिकले गत वर्ष नै विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने बताइसकेका थिए । विश्वकपमा पाकिस्तानको अन्तिम खेलमा बंगलादेशलाई ९४ रनले हराएपछि उनले योजना कार्यान्वयन गरेका हुन् । ३७ वर्षीय मलिकले टान्टी-२० भने खेल्नेछन् । तर एकदिवसीय करिअरबाट विश्राम लिनु आफ्नो जीवनकै भावुक क्षणको रूपमा उनले परिभाषित गरे ।

सुरुआती ३ मध्ये २ खेलमा शून्यमै आउट भएपछि टिमबाट निकालिएका मलिकले भने, ‘म एकदिवसीय क्रिकेटबाट संन्यास लिँदैछु’, भारतीय टेनिस स्टार सानिया मिर्जाका श्रीमान मलिकले थपे, ‘म यस कुरामा निकै दु:खी छु कि मैले यस फर्म्याट छोडिरहेको छु, जुन मलाई सबैभन्दा मनपर्छ । म आफ्नो परिवारसँग अधिक समय बिताउन र अर्को वर्ष हुने ट्वान्टी-२० विश्वकपमा अधिक ध्यान केन्द्रित गर्न यसो गरिरहेको छु ।’

सन् १९९२ को उपाधि विजेता पाकिस्तानले यस संस्करणको सेमिफाइनलमा स्थान बनाउन असफल भएपछि मलिकको यो निर्णय आएको हो । पाकिस्तान ९ खेलबाट न्युजिल्यान्डसँग समान ११ अंक बनाए पनि नेट रनरेटका आधारमा पछि परेको हो । मलिकले २ सय ८७ एकदिवसीय अन्तर्राष्ट्रियमा ९ शतकसहित जम्मा ७ हजार ५ सय ३४ रन प्रहार गरेका छन् । उनको अन्तिम खेल जुन १६ मा म्यानचेस्टरमा भएको चिरप्रतिद्वन्द्वी भारतविरुद्धको खेल रह्यो । अफ स्पिनरका रूपमा उनले १ सय ५८ अन्तर्राष्ट्रिय विकेट पनि लिएका छन् । उनले ४१ एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानको कप्तानी सम्हालेका थिए । मलिकले कमजोर लयबीच करिअर सिध्याउनुपर्दा निरास बनेको प्रतिक्रिया दिएका छन् । ‘टिमको सिनियर खेलाडी हुनुका नाताले मैले धेरैभन्दा धेरै सहयोग गर्न चाहन्थें तर सधैं सबै कुरा तपाईले सोचेजस्तो हुँदैन । यो क्रिकेटको एउटा हिस्सा पनि हो’, उनले भने ।

‘तपाईले दुई वा तीन खेलमा कुनै पनि खेलाडीको मूल्यांकन गर्न सक्नुहुन्न तर म यो कुरामा खुसी छु कि मलाई प्रतिस्थापन गरेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे’, दक्षिण अफ्रिका र न्युजिल्यान्डविरुद्ध अर्धशतक बनाएका ह्यारिस सोहेलबारे मलिकले भने । ‘यदि तपाई कडा मिहिनेत र इमानदारीसाथ खेल्नुहुन्छ भने सर्वोत्कृष्ट सफलता हासिल गर्नु हुनेछ, मेरो हकमा पनि त्यही भएको हो । मैले कहिल्यै पाकिस्तानका लागि २० वर्षसम्म खेल्न सक्छु भन्ने सोचेको थिइनँ’, मलिकले थपे ।