झापा । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर ५ मा आयोजित अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमबार सम्पन्न फाइनल खेलमा गाडागल्ली फुटबल क्लबलाई २-१ को गोल अन्तरले हराउँदै मेची नेत्रालय काँकरभिट्टा एफटिसीले फाइनलको उपाधि जितेको हो ।
उपाधिसँगै काँकरभिट्टाले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको गाडागल्लीले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी काँकरभिट्टाका मिलन राई, सर्वाधिक गोलकर्ता गाडागल्लीका विक्रम राई र खेलको म्यान अफ दी म्याच काँकरभिट्टाकै योगेश गुरुङ भए । उनीहरुले डम्बर रञ्जितकारले सौजन्य गर्नु भएको जनही नगद दुई हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापा, मुख्य प्रायोजक विकास लावती, आयोजकका अध्यक्ष सन्तोष गिरी, वडा सदस्य नारायण खड्का, समाजसेवी दिलिप सुब्बालगायतले पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी, फाइनल खेलअघि झापा ११ पत्रकार र आयोजक कमिटीबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम २–१ गोल अन्तरले विजयी बनेको थियो । पत्रकारको तर्फबाटा देबु बानियाँ कप्तान थिए भने आयोजकका तर्फबाट सुभाष सेलिङको कप्तानीमा फुटबल खेलेका थिए । कार्यक्रमको सञ्चालन भूमिका सुब्बाले गरेकी थिइन् ।