एजेन्सी- अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ अन्तर्गत रेफ्रीको निर्णयप्रति दिएको प्रतिक्रियालाई लिएर समस्यामा पर्ने देखिएको छ । दक्षिण अमेरिकाको फुटबल संघ ९कन्मेबल० ले उनको प्रतिबन्ध बढाउने तयारी गरेको छ ।

ब्राजिलविरुद्ध सेमिफाइनल खेलमा पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको खेलमा मेस्सीले रातो कार्ड पाएपछि उनले प्रतियोगितामा रेफ्रीहरुको स्तरमाथि प्रश्न उठाउँदै आफूप्रति रिस फेरेको अभिव्यक्ति दिएका थिए । चिलीविरुद्ध रातो कार्ड पाएसँगै मेस्सीले अर्जेन्टिनाको लागि अर्को खेल खेल्न पाउने छैनन् ।

तर कन्मेबलले मेस्सीले दिएको अभिव्यक्तिलाई लिएर उनलाई थप कारवाही गर्ने बुझिएको छ । सन् २०१७ मा रेफ्री एमर्सन अगुस्टोको निर्णयप्रति असहमति देखाउँदै दिएको अभिव्यक्तिलाई लिएर मेस्सीले ४ खेलको प्रतिबन्ध भोगेका थिए । पछि उक्त प्रतिबन्धलाई १ खेलमा झारिएको थियो ।

यसपटक भने मेस्सीलाई एक खेल मात्र थप कारवाही भए उनले दुई खेल गुमाउनेछन् । अर्जेन्टिनाले अब विश्वकप छनोट अन्तर्गत खेल सुरु गर्नेछ । छनोटका सुरुवाती केहि खेलमा भने मेस्सी उपलब्ध नहुने सम्भावना रहेको छ ।