झापा । एक नम्बर प्रदेशस्तरीय ११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार विदाई गरिएको छ । झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय खेल टोलीलाई बिदाई गरेको हो ।

हनुमान मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले खेलाडीहरुलाई शुभकामना दिए । ‘प्रतियोगिताका लागि आवश्यक योग्य खेलाडी छानेका छौं’, त्यसक्रममा उनले भने, ‘झापाले प्राप्त गर्दै आएको सफलताले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।’ अध्यक्ष थापाले खेलको नियम र अनुशासनलाई ध्यान दिँदै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न प्रतिष्पर्धी खेलाडीहरुलाई आवश्यक निर्देशन दिए ।

यही बुधबार र बिहीबार सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय सो प्रतियोगितामा झापाका ७६ जना खेलाडीले प्रतिष्पर्धा गर्ने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए । स्थानीय तह हुँदै र जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका १४ जिल्लाका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगितामा भाग लिँदैछन् । सो प्रतियोगिताबाट छानिने खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेशस्तरीय प्रतियोगितामा झापाबाट कबड्डीतर्फ ९ छात्र र ९ छात्रा, एथ्लेटिक्सतर्फ ११ छात्र र ११ छात्रा, भलिबलतर्फ ९ छात्र र ९ छात्रा, करातेतर्फ ३ छात्र र ३ छात्रा, तेक्वान्दोतर्फ ३ छात्र र ३ छात्रा तथा उसुतर्फ ३ छात्र र ३ छात्राले खेल्नेछन् । राखेप कराँते सहायक प्रशिक्षक कृष्ण बस्नेत नेतृत्वको झापाली खेल टोलीमा खेल प्रशिक्षकहरु उसुका अरुण सापकोटा, करातेका हरिमाया राई, तेक्वान्दोका जीतेन्द्र मेचे, भलिबलका हेमा थापा, कबड्डीका उत्तमकुमार पौडेल र एथ्लेटिक्सका मेनुका राउत छन् ।