झापा। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्यमन्त्री कप प्रदेश १ लिगको फाइनल चरणका खेलहरु हुने स्थान परिवर्तन गरेको छ । यसअघि बिराटनगर स्थित शहिद रंगशालामा हुने भनिएता पनि भारी बर्षाका कारण उक्त मैदान जलमग्न भएपछि आयोजकले स्थान परिवर्तन गर्न बाध्य भएको हो ।

एन्फाका अनुसार अब फाइनल चरणका खेलहरु सुनसरीस्थित धरान रंगशालामा हुनेछन् । खेल संयोजक किरन राईले वर्षाका कारण विराटनगरमा रहेको शहीद रंगशालामा खेल्न नसकिने गरी पानी जमेकाले आफूहरुले खेलस्थल परिवर्तन गर्न बाध्य भएको बताए ।

प्रतियोगिताको फाइनल चरणका खेलहरु यही असार २७ गतेदेखि शुरु हुँदैछन् । सुपर सिक्समा परेका कुल ६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा सुनसरी, धनकुटा र मोरङ रहेका छन् भने समूह बी मा झापा, खोटाङ र इलाम रहेका छन् ।

प्रतियोगिताअन्तरगत असार २७ गते बिहान हुने पहिलो खेलमा सुनसरीले धनकुटाको सामना गर्नेछ भने बेलुका ४ बजे हुने खेलमा झापाले खोटाङको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाखसहित ४ किलो चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रोदेखि छैठौं स्थान हासिल गर्ने टोलीहरुले भने जनही ७५–७५ हजार हात पार्नेछन् ।