बिर्तामोड । जिम तथा फिटनेस व्यावसायिक संघ झापाले बिर्तामोडमा शुक्रबारदेखि संघमा आवद्ध सदस्यका लागि सेमिनार सुरु गरेको छ ।
जिम तथा फिटनेस सञ्चालन गर्दा अपनाउने सावधानी तथा सुरक्षाका विषयमा सैद्धान्तिक एव. व्यवहारिक ज्ञान दिने उद्देश्यले सेमिनार आयोजना गरिएको संघ झापाका सहसंयोजक चन्द्र राना लाफाले जानकारी दिए । सेमिनार फिटनेस वल्र्डमा बिर्तामोडमा भइरहेको छ ।
संघका संयोजक गंगालाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघमा आवद्ध झापाका २५ वटा जिम तथा फिटनेस सेन्टरका एक सय जनाभन्दा बढी रहेका छन् । उनीहरुलाई काठमाडौँबाट आएका व्यावसायिक सहजकर्ता डा. मोहित कार्की, सिरिस श्रेष्ठ र अदिति गुरुङले सहजीकरण गरिरहेका छन् ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्य, सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिबी रणपालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा हरि धिमालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव राजु दाहालले गरेका थिए ।
सेमिनारमा प्रशिक्षार्थीलाई कसरी सिकाउने, शरीरलाई हानी हुन नदिने तरिका, यसबाट बच्ने उपाय, जिम हाउसमा दुर्घटना भइहाले कसरी कसरी प्राथमिक उपचार गर्ने र प्रशिक्षार्थीले प्रयोग गर्नुपर्ने पोषण तत्वका बारेमा उनीहरुले सुझाव दिनेछन् ।
