झापा । नेपालले मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा खराब सुरुवात गरेको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवात ६ ओभरमा ४२ रन जोड्न प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिजको पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट हुन पुगे ।

फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का पनि ठूलो सर्ट खेल्ने धुनमा विरनदीप सिंहले उत्कृष्ट क्याच लिएपछि २३ रनमा पेभिलिएन फर्केका छन् ।

पारसले १९ बलमा समान समान २ चौका र छक्का प्रहार गरे । क्रिजमा युवा खेलाडी रोहित कुमार पौडेल र अनुभवी ब्याट्सम्यान शरद भेषवाकर रहेका छन् ।

दुई खेलको टी-ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

कप्तान पारसले अविजित रहदै ७६ रनको अर्धशतकिय ईनिङ्स खेलेपछि नेपालले सहज जित निकालेको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २-२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले एक विकेट हात पारेका थिए ।