एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो ।
खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण नै उपाधि जित्न पर्याप्त रहयो । अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरियाले सेनेगललाई खेलमा फर्कने मौका दिएन ।
पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलले दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाएको थियो । तर रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरे । सेनेगलले खेल अवधिभर दवाव बनाएपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा सफल हुन सकेन ।
सन् १९९० मा पहिलो उपाधि जितेको अल्जेरियाले दोस्रो उपाधि जित्दा सन् २००२ पछि उपाधि सम्भावना बनाएको सेनेगल भने निराश हुन पुग्यो ।