झापा । बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामालाई त्यहाँस्थित नेपाली दुतावासले शनिबार सम्मान गरेको छ । उनलाई बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले सम्मान गरेका हुन् ।
विक्रमले पनि राजदुत सुवेदीलाई नेपाली फुटबल टोलीको जर्सी उपहार दिएका थिए । त्यस्तै उनले उल्भरह्याम्टन काउन्सिलका मेयर क्लारी डार्केलाई पनि उपहार दिएका थिए । खुट्टाको चोट निको भएर गत वर्ष सक्रिय रुपमा खेलमा फर्केका विक्रम नेपाली युवा टोलीका पूर्व प्रशिक्षक नवल गुरुङसँग थप परामर्शका लागि झन्डै तीन साताअघि बेलायत पुगेका थिए । नवल अहिले प्रिमियर लिग टोली फुलह्यामको महिला टोलीको पर्फिमिङ इन्ह्यान्स ट्रेनरका रुपमा कार्यरत छन् ।
‘खुट्टा ठिक भएर फर्केपछि लगातार खेलेको खेलैछु । त्यसले गर्दा खुट्टामा अलिक बढी लोड भएको महसुस गरे’, विक्रमले भने, ‘यहाँ नवल दाई, सरोज गुरुङ र निशान मगरसँग परामर्शको लागि आएको थिए । सबै राम्रो भएको छ । नियमित अभ्यास गरिरहेको छु । पहिला भन्दा निकै सहज महसुस गरेको छु ।’
२०७४ को फागुनमा धरानको बुढासुब्बा गोल्ड कपमा नेपाल पुलिस क्लबविरुद्ध रुस्लान थ्री स्टार क्लबबाट फाइनल खेल्दा उनको दाँया खुट्टा भाच्चिएको थियो । चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो ।
त्यसपछि उनले थ्री स्टारका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठको पहलमा बैंकक एडेमी अफ स्पोर्टस एन्ड एक्सरसाइज मेडिसनमा परिक्षण गराएका थिए । गत मंसिरमा ए डिभिजन लिगमार्फत उनले फुटबलमा पुनरामगन गरेका थिए । मार्चमा कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका विक्रम अहिले नियमित टोलीका सदस्य हुन् ।