झापा । प्रदेश नम्बर १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा च्यम्पियन बनेको झापाको सैनिक फुटबल क्लबलाई एक समारोहबीच बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले सम्मान गरेको छ ।

महेन्द्र रत्न माविको सभाकक्षमा आयोजित कार्यक्रममा च्याम्पियन सैनिक फुटबल क्लबसम्वद्ध खेलाडी र प्रशिक्षकलाई नगरपालिकाले आज सम्मान गरेको हो । सैनिक युथ क्लब बिर्तामोड नगरपालिकाको १० नम्बर वडामा रहेको क्लब हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष टीका सङ्ग्रौलाको सभापतित्व र उपमेयर पवित्रा महतराको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले प्रभावकारी योजनाले मात्र खेलकुदको विकास हुने धारणा राख्नुभयो ।

समितिका उपाध्यक्ष केशव भण्डारीले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रममा बोल्दै वार्ड अध्यक्षहरु दुर्योधन गुरुङ, राजेन्द्रप्रसाद लिङ्देन र भोजराज सिटौलाले खेलाडीको व्यावसायिक जीवनको सुरक्षा अनिवार्य हुनुपर्ने बताउनुभयो । वक्ताहरुले सीमित श्रोतका बावजुद सैनिक क्लबको उपलव्धिप्रति प्रशंसा व्यक्त गरेका थिए ।

नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा उपमेयर महतराले खेल र खेलाडीको स्तर बृद्धिका लागि आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिनुभएको थियो । यसअघि सैनिक युथ क्लबका खेलाडीलाई १० नम्बर वडा कार्यालयबाट स्वागत सम्मान गरेको थियो ।

बिर्तामोड नगरस्तरीय खेलकुद विकास समितिले विन्ड चिटर २८ थान र १० नम्बर वडा कार्यालयले टि-सर्ट २८ थान खेलाडी तथा अफिसियललाई प्रदान गरेको थियो ।