विनोद सापकोटा,
झापा । झापामा महिला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगितामा तीन जिल्लाले सहभागिता जनाउने आयोजक शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ ।

आयोजकले उक्त प्रतियोगितालाई प्रथम उपमेयर महिला नकआउट फुटबल प्रतियोगिता भनेर नाम दिएको छ । सोमबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे प्रतियोगितामा झापा, मोरङ र इलामका १० टिम सहभागी हुने आयोजक समितिले जनाएको छ । शिवसताक्षी ११ स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा साउन १५ गतेदेखि २२ गतेसम्म खेल सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

सो प्रतियोगितामा झापाको सतासीधाम स्पोर्टिङ्ग क्लब, झापा महिला एफसी, रोयल क्लब दमक, जोइन स्पोर्टिङ्ग क्लब बिर्तामोड, पारिजात महिला एफसी, शिवसताक्षी ११ महिला टिम झिलझिले, सुरुङ्गा एफसी कनकाई, जुनतारा एफसी खुदुनाबारीले सहभागी जनाउने छन् ।

यस्तै मोरङको उर्लाबारी नगर खेलकुद विकास समिति र चुलाचुली महिला एफसी इलाम सहभागी हुने आयोजक समितिका अध्यक्ष फुर्वा लामाले बताए । प्रतियोगिता सञ्चालनका लागि आयोजकले ४ लाख ५४ हजार खर्चको अनुमान गरेको छ । शिवसताक्षी नगरपालिकाले २ लाख सहयोग गर्ने नगर प्रमुख चन्द्रकुमार सेर्माले बताए ।

चालु आवको नगर सभाबाट स्वीकृत खेलकुद विकासका लागि बिनियोजित ३० लाखमध्येबाट २ लाख प्रथम शिवसताक्षी उपमेयर महिला नकआउट फुटबल प्रतियोगितामा खर्च हुनेछ । कुलतमा फस्नबाट युवायुवतीलाई जोगाउन नगरले खेलकुदका हरेक कार्यक्रममा सहयोग गर्ने नगर प्रमुख सेर्माले बताए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेतालाई ३१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताका सर्वोकृष्ट महिला फुटबलरलाई नगद ५ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार प्रदान गर्ने आयोजक समितिले जनाएको छ ।

यस्तै प्रतियोगिताभरका उत्कृष्ट गोलरक्षक, उदयीमान, मिडफिल्डर, फरवार्डलाई जनही २५ सय र वुमन अफ दी म्याचलाई १ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।