एजेन्सी । प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियलले अष्ट्रियाको रेडबुल साल्ज्बर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

साल्ज्बर्गको मैदान रेडबुल एरिनामा भएको खेलमा रियलका लागि इडेन हजार्डले निर्णायक गोल गरे । हजार्डले खेलको १९ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै खेलमा निर्णायक बनेको थियो ।

रियलका लागि हजार्डको यो डेब्यु गोल हो । यसै सिजन इन्ग्लिश क्लब चेल्सीबाट रियल आएका हजार्डले क्लबका लागि पहिलो गोल गरेका हुन् ।

युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न रियल र साल्ज्बर्गले मैत्रीपूर्ण खेल खेलेको हो । रियल आएयता बढी तौल भएको भन्दै आलोचना खेपिरहेका हाजार्डले मैदानमा भने लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

प्रशिक्षक जिदानले हाजार्डको आगमनसँगै टोलीका अर्का फरवार्ड ग्यारेथ बेललाई भने आफ्नो टोलीमा राखेका छैनन् । क्लब व्यवस्थापनले उनलाई कुनै हालतमा क्लब छाड्न नदिने बताइरहँदा जिदानले भने उनलाई आफ्नो योजनमा नरहेको प्रष्ट पारेका छन् । यस्तै लाइप्जिगसँग हामेस रोड्रीग्वेजले पनि खेलेका थिएनन् ।