काठमाडौं । २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तरगतको एसिया क्षेत्रको छनोटको दोस्रो चरण तथा चीनमा २०२३ मा आयोजना हुने एसियन कपको छनोट खेलमा नेपालले पहिलो खेल कुवेतमै खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालले पहिलो खेल कुवेतमा कुवेतसँगैै खेल्ने पक्का भएको जानकारी गराएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला निर्माण सम्पन्न नभएसँगै नेपालले दोस्रो चरणमा खेल्ने कुवेत, चाइनिज ताइपेइ र जोर्डनसमक्ष अनुरोध गरेको थियो ।
कुवेतबाहेक चाइनिज ताइपेइले सुरुमै अवे खेलको लागि एन्फाको अनुरोध स्वीकारेपनि कुवेतले इन्कार गरिरहेको थियो । तर, शुक्रबार बिहान कुवेतले एन्फाको अनुरोधलाई स्वीकारेको हो ।
कुवेतले एन्फाको प्रस्ताव स्वीकारेसँगै नेपालले चार वटा खेल घरेलु मैदानमै खेल्ने लगभग पक्का भएको छ । नेपाल र कुवेतबीचको खेल ५ सेप्टेम्वरमा कुवेतमा हुनेछ । अस्ट्रेलियासँगको खेल भने फिफा र एएफसीले सार्वजनिक गरेको तालिकामै नै हुनेछ ।
सुरुवाती तीनै खेल नेपालले अवे खेल्ने भएपछि एन्फाले नोभम्वर १९ मा घरेलु मैदानमा कुवेतसँगको खेलको लागि रंगशाला तयार पारिसक्नु पर्नेछ ।
त्यसका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलाई रंगशाला निर्माण छिटो तयार पार्न अनुरोध गरेको छ । रंगशाला तयार नभए नेपालले हाम म्याच न्युट्रल भेन्युमा खेल्नुपर्नेछ । एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईले नेपालको घरेलु खेल घरेलु भुमिमै खेलाउनको लागि रंगशाला तयार भइसक्ने र काठमाडौंमै हुने बताएका छन् ।
तीन राष्ट्रसँगको नयाँ खेल तालिका
कुवेतविरुद्ध नेपाल (सेप्टेम्वर ५, २०१९)
चाइनिज ताइपेइविरुद्ध नेपाल (सेप्टेम्वर १०, २०१९)
जोर्डनविरुद्ध नेपाल (अक्टोवर १५ २०१९)
नेपाल विरुद्ध कुवेत (नोभेम्वर १९, २०१९)
नेपालविरुद्ध चाइनिज ताइेपेइ (मार्च २६, २०२०)
नेपालविरुद्ध जोर्डन (जुन ४, २०२०)