ताप्लेजुङ । सदरमुकाम फुङलिङमा आयोजित पाथिभरा गोल्डकपमा शुक्रबार मोरङको बेलबारी एफसी विजयी भएको छ । आयोजक ताप्लेजुङ ११ लाई टाइब्रेकरमा बेलबारीले पराजित गरेको हो ।
यो हारसँगै पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्ला ताप्लेजुङका दुवै टिम बाहिरिएका छन् । उद्धघाटन खेलमा पोमु केछाङ स्पोर्टिङ क्लब बाहिरिएको भोलिपल्ट आज मोरङको बेलबारी क्लवसँग आयोजक ताप्लेजुङ ११ पराजित भएको हो ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा बेलबारीका सबै पाँच खेलाडीले गोल गरे पनि ताप्लेजुङका बिकाश शेर्पाले प्रहार गरेको गोल किपरले पञ्च गरेर बचाएपछि ताप्लेजुङ पराजित भएको हो ।

बेलबारीको तर्फबाट पृथ्वी चौधरी, बिबेक थापा मगर, मौषम सुब्बा, सञ्जु श्रेष्ठ र शंकर राइले गोल गरे । ताप्लेजुङका कृष राई, सन्तोष लिम्वू, मनिराज लिम्वू र सुशिल लिम्वूको प्रहारमात्र गोलमा परिणत भएको थिायो ।
आजको म्यान अफ दी म्याच बेलबारीका सुर्य श्रेष्ठ घोषित भए । उनलाई पुरस्कारस्वरुप नगद ५ हजार प्रदान गरियो । भोलि शनिबार फिदिम स्पोर्टिङ क्लब पाँचथर र रेड हर्स क्लब इलामबीच खेल हुनेछ । इलाम उद्धघाटन खेलमा पोमु केछाङ ताप्लेजुङलार्इ पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको हो । फिदिम भने पहिलो पटक मैदानमा उत्रन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १११ र उपविजेता टिमले १ लाख ५१ हजार १११ रुपैयाँ र ट्रफी पाउनेछ ।