एजेन्सी । बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको लागि पछिल्लो सिजन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा उनको टोलीलाई सफलता नमिले पनि लगातार ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै महत्वपूर्ण रह्यो । उनले आफ्नो खेल जीवनमा व्यक्तिगत उपाधि पनि थ्रुपै जितिसकेका छन् । बालोन डी ओर मात्रै उनले आफ्नो जीवनमा ५ पटक जितिसकेका छन् । युरोपका अन्य व्यक्तिगत उपाधि लगभग सबै जितेपनि उनले अहिले सम्म पुस्कास अवार्ड भने जित्न सकेका छैनन् ।

यो वर्ष सबै व्यक्तिगत पुरस्कारमा दाबेदारका रुपमा रहेको मेस्सी आफै पक्कै पनि पुस्कार अवार्ड पनि जित्न चाहन्छन् । सोमबार गरिएको पुस्कास अवार्डको मनोनयमा मेस्सी समेटिएका छन् । यो अवार्डका लागि मेस्सी सातौं पटक मनोनयमा परेका छन् ।

सिजनको उत्कृष्ट गोलका आधारमा पुस्कास अवार्डको मनोनयन गरिएको हुन्छ । यो अवार्डका लागि मेस्सीपछि नेयमार ५ पटक, ज्लाटान इब्राहिमोभिच ४ पटक तथा क्रिस्टियानो रोनाल्डो २ पटक मनोनयनमा परेका छन् । सन् २००९ मा नै रोनाल्डोले उक्त अवार्ड जितेका थिए ।

अहिले सम्म पुस्कार अवार्ड रोनाल्डो, नेयमार, हामेस रोड्रिग्वेज, ओलिभर जिर्रोड र इब्राहिमोभिचले जितेका छन् । इब्राहिमोभिच यसपटक पनि मनोनयमा परेका छन् । मेस्सी र इब्राहिमोभिचसहित यसपटक मनोनयमा म्याथुज चुन्हा, अजरा एचोट, फाबियो क्लाग्लिएर्ला, हुवान फर्नेनान्डो क्वान्टिरो, एमी रोड्रिग्वेज, बिली सिम्पसन, आन्द्रोस टाउसेन्ड र डानियल सोरी छन् ।

फिफाको अफिसियल वेबसाइटमा समर्थहरुले सेप्टेम्बर १ सम्म भोट गर्न पाउने बताइएको छ । मतपछि फिफाका तीन सदस्यीय टोलीले विजेताको घोषणा गर्नेछन् । सेप्टेम्बर २३ मा मिलानमा हुने द बेस्ट अवार्डकै दौरान पुस्कास अवार्डको विजेता घोषणा गरिनेछ ।