भद्रपुर । अव्यवस्थित दिनचर्या र खानपान अनि व्यायामको कमीले मानिसलाई भद्दा मोटो र विभिन्न रोगको शिकार बन्दै गएको अवस्थामा व्यायाम गर्न चाहने मानिसको आवश्यकता पूरा गर्ने उद्देश्यले झापाको भद्रपुर बजारमा बडी टेम्पल फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको छ ।
वैदेशिक रोजगारबाट फर्किएका स्थानीय तीनजना युवाको संयुक्त लगानीमा भद्रपुर-८ को सगरमाथाचोकमा फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरमा वीरु धमला, राज वन र एमबी गिरीले लगभग ५० लाख रुपैयाँ लगानी गरेका छन् ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठले सो फिटनेसको उद्घाटन गर्दै भद्रपुरमा आवश्यक व्यवसायले प्रवेश पाएकोमा खुशी व्यक्त गरे । प्रमुख श्रेष्ठले व्यायाम र योगाभ्यासले मानिसलाई तन्दुरुस्त र निरोगी राख्न निकै ठूलो सघाउ पुर्याउने भएकोले नियमित व्यायाम गर्न नगरवासीलाई आग्रह पनि गरेका छन् ।
सञ्चालक वीरु धमलाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, फिटनेस तथा जीम व्यवसायी संघ झापाका अध्यक्ष गंगा गुरुङ, शारीरिक सुगठनका राष्ट्रिय खेलाडी ललित धिमाल, तुलबहादुर श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए । जिल्लाका विभिन्न स्थानमा फटनेस सेन्टरका सञ्चालन गर्दै आएका प्रसिद्ध राजलवट, खेमराज श्रेष्ठ, हरि धिमाल, चन्द्र राना मगरसमेतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन राजु दाहाल र स्वागत अभिभावक अर्जुन गिरीले गरेका थिए ।
सो अवसरमा फिटनेश सञ्चालनका लागि ठाउँ उपलब्ध गराइदिने पूर्व न्यायाधीश नन्दप्रसाद पौडेललाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
फिटनेस सञ्चालनमा आएसँगै भद्रपुर क्षेत्रका झण्डै एकसयजनाले सदस्यता लिइसकेको सञ्चालक राज वनले जानकारी दिए । उनले सेवाग्राहीले सेन्टरबाट कार्डियो ट्रेनिङ, मसल बिल्डिङ ट्रेनिङ, एरोबिक क्लास, जुम्बा क्लास, मल्टी जीमको सुविधा पाउने बताए । पुरुषको तुलनामा महिलालाई शुल्कमा छुट गरिएको उनको भनाइ छ ।