काठमाडौं । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ नेपालले आफ्नो पहिलो अवे म्याच सेप्टेम्बर ५ तारीखका दिन कुवेतसँग खेल्दैछ । त्यसका लागि नेपाली फुटबल टोली केही दिनअघि नै कुवेत पुग्ने समेत बताइएको छ ।
खासगरी नेपालले पहिले घरेलु म्याच खेल्ने तय भएको थियो । यद्यपि अन्तर्राष्ट्रियस्तरको नेपालको एक मात्र घरेलु मैदानका रुपमा रहेको दशरथ रंगशाला निर्माणका क्रममा रहेको र विश्वकप छनौटको खेल शुरु हुँदासम्म प्रयोग गर्न नसकिने अवस्थामा रहेकाले नेपालले पहिले अवे म्याच खेल्न लागेको हो ।
यद्यपि यहाँ चर्चाको कुरा, कुवेत जाने नेपाली टोली जम्बो हुने देखिएको छ । गोलनेपालका अनुसार नेपाली फुटबल टोलीसँगै ३६ सदस्यीय टोली कुवेत जाँदैछ ।

सम्झिनुपर्ने कुरा त टोलीमा २३ खेलाडी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम फिजियो, मिडिया, टिम म्यानेजर गरेर २८ जनाको टिम बन्छ । तर नेपाली टोलीसँगै अतिरिक्त ७ जना पदाधिकारीको जम्बो टोली पनि जाँदैछन् ।
स्मरण रहोस, एन्फाले नेपालले खेल्ने अधिकांश अन्तर्राष्ट्रिय म्याचहरुमा आफू मातहतका जिल्ला फुटबल संघका पदाधिकारीहरुलाई नियमित जसो नेपाली टोलीसँगै विदेश पठाउने गर्दछ । तर यहाँ प्रश्नको कुरा के छ भने, आखिर एन्फाले त्यत्रो संख्यामा पदाधिकारीहरुलाई राष्ट्रिय टोलीसँगै पठाउनुको कारण के रु गोलनेपालका अनुसार यसबारे एन्फाका पदाधिकारीहरुसँग बुझ्न खोज्दा उनीहरु सम्पर्कमा आउन सकेनन् ।
यसैबीच, नेपाल र कुवेतबीच यसअघि खेल जाबेर अल–अहमद इन्टरनेशनल स्टेडियममा हुने भनिए तापनि हाल आएर सो खेलका लागि स्थान परिवर्तन गरिएको छ । तर गोलनेपालका अनुसार अब त्यो खेल कुवेत स्पोर्टस क्लब स्टेडियममा हुने भएको छ ।
स्मरण रहोस, विश्वकपको एसियाली छनौटतर्फ नेपाल एसियन पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँगै समूह बी मा परेको छ ।