झापा । नेपालले वेस्ट बेंगालस्थित कल्याणी रंगशालामा भइरहेको साफ यू-१५ च्याम्पियनसिप आयोजक भारतविरुद्ध खेल्ने भएको छ । दुवै टिम बिहीबार जित हात पार्दै फाइनल प्रवेश गरेका हुन् ।

दिनको पहिलो खेलमा नेपालले भुटानमाथि ६-० को जित हात पारेको थियो । त्यसपछि भारतले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४-० ले हरायो । पहिलो खेलमै नेपाललाई हराएको भारतले पाँच टिम सेहभागी च्याम्पियनसिपमा शतप्रतिशत जित निकाल्दै शीर्षस्थान हासिल गर्यो । पछिल्ला तीनै खेल जितेको नेपाल दोस्रो स्थानमा रह्यो ।

राउन्ड रोविनको अन्तिम खेल भारत र बंगलादेशबीच भएको थियो । भारतलाई कम्तीमा ४ गोलको अन्तरले हराउन सकेको भए बंगलादेश नेपालको स्थानमा फाइनल पुग्ने थियो  । त्यो भन्दा कम अन्तरको जित, बराबरी वा बंगलादेशको हारमा नेपाल फाइनल पुग्ने निश्चित थियो । भारत भने तीन खेल जितेर यसअघि नै फाइनल पुगिसकेको थियो ।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईको नजिक पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४-१ ले पराजित गरको थियो । यू १५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ मा फाइनल पुग्नु नेपालको अहिले सम्मको सफल नतिजा हो । भारत र बंगलादेशले अहिलेसम्म समान दुई पटक उपाधि जितेका छन् ।