झापा । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार राति पौने ११ बजे कुवेतको जावेर अल-अहमाद स्टेडियम हुनेछ।
नेपाल कुवेतलाई उसैको घरेलु मैदानमा हराउँदै सुखद् सुरुवात गर्ने दाउमा रहेको छ। नेपालले अर्को खेलमा भदौ २४ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन्। नेपाली टिमका प्रशिक्षक योहान कालिनले नेपाली टिमले राम्रो प्रर्दशन गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
नेपाल र कुवेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुवेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।
यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले फिफा विश्वकपको दोस्रो चरणको एसियाली छनौटतर्फ कुवेत विरुद्धको खेलमा खेलको मजा लिने बताएका छन् ।
विश्वकप छनौटतर्फ समूह बी मा रहेको नेपालले आफ्नो पहिलो अवे म्याच बिहीबार कुवेत विरुद्ध उसकै घरमा खेल्दैछ । उता खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चेम्जोङले भने, ‘प्रशिक्षक (योहान कालिन) ले भने जस्तै कुवेत एउटा राम्रो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौं । कुवेत विरुद्ध मार्चमा हामीले दुई म्याच पनि खेलेका थियौं । हामी उनीहरुको सामना गर्न तयार छौं ।’
साथै पत्रकार सम्मेलनमा बोल्दै किरणले आफूहरुले कुवेत विरुद्धको खेलमा मजा लिने समेत बताए । किरणले भने, ‘आज हामी त्यो खेलको मजा लिनेछौं ।’