अर्जुनधारा । कप्तान सरोज कार्कीको एकमात्र गोलले झापाको अर्जुनधारा-१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगितामा आयोजक सयपत्री युवा समूह फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय टेकमान रंगशालामा मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइलन खेलमा आयोजक सयपत्रीले चन्द्रगढी फुटबल एकाडेमीलाई १-० गोलले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । खेलको १३औँ मिनेटमा आयोजकले पाएको फ्रिकिकमा कप्तान सरोज कार्कीले निर्णायक गोल गरेका थिए । करिब २० यार्डको दूरीबाट प्रहार गरेको बलले सोझै चन्द्रगढीको गोलपोस्टको जाली चुमेको थियो ।

चन्द्रगढीका खेलाडीले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा फाइनल प्रवेशबाट बञ्चित हुनु परेको थियो । त्यस्तै, आयोजकका खेलाडीले पनि पाएको अवसर खेल फाल्दा अग्रता दोब्बर बनाउन सकेनन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सनम राई घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, सौजन्यकर्ता डिकेश भट्टराईले नगद ३ हजार पुरस्कारस्वरुप प्रदान गरे । त्यस्तै, स्थानीय खेलप्रेमी नारायण सुब्बाले पनि एक हजार एक सय रुपैयाँ म्यान अफ दी म्याच सनम राईलाई प्रदान गरेका थिए ।

भोली(बुधबार)को अन्तिम सेमिफाइनल खेल शिवसताक्षी युवा क्लब झिलझिले र सैनिक युथ क्लबबीच हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले बताए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार पाउनेछ भने उपविजेताले नगद ३० हजार पाउने आयोजकले जनाएको छ ।