झापा । झापा ११ एफसीलाई भारतमा सफलता मिलेको छ । गुरुबथानमा आयोजित गुरुबथान गोल्डकप २०१९ मा नेपालको झापा ११ एफसी च्याम्पियन बनेको हो ।
कर्ण लिम्बूको कप्तानीमा मैदान उत्रेको झापा ११ ले आइतबार आयोजित फाइनल भिडन्तमा भारतकै युनाइटेड ब्रदर्स कालिम्पोङलाई २-१ गोलले पराजित गर्दै गुरुबथान गोल्डकपको च्याम्पियन बनेको हो ।
खेलको २ मिनेटमै युनाइटेड ब्रदर्सका खेलाडीले गोल गरेर अग्रता लिएका थिए । तर, झापा ११ का मिलन राई खेलको ४ मिनेटमै गोल गरेर खेललाई बराबरीमा पुराए । झापा ११ को जीतका लागि खेलको ३६औँ मिनेटमा सञ्जोग राईले गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच झापा ११ का सञ्जोग राई घोषित हुँदा युनाइटेड ब्रदर्सका समिप गुरुङ म्यान अफ दी टुर्नामेन्ट भए । खेलको अन्त्यतिर दुई वटा उत्कृष्ट गोल बचाएका भापा ११ का मनोज प्रधान उत्कृष्ट गोलरक्षक घोषित भए ।
जीतसँगै झापा ११ ले एक लाख भारतीय रुपैयाँ प्राप्त गर्यो । उपविजेता युनाइटेड ब्रदर्सले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।