काठमाडौ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भइसकेको जनाएका हुन् । उनले भने, ‘१५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।

१३औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाइ छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भइसकेको पनि उनले जनाए ।

उनका अनुसार महिला र पुरुष भलिबलका खेलहरु सुरु भइसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो’, उनले भने ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने, ‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’

उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरी सिँगार्ने काम पनि भइरहेको जानकारी दिए ।

उनले उद्घाटन समारोहमा देशका ख्यातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने, ‘सबै हिसाबले तयारी पूरा भइसकेको छ ।’

सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाइ छ ।

सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रवद्र्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिइएको उनले बताए । मन्त्री विश्वकर्माले भने, ‘हामीले सागलाई पर्यटन वर्षको प्रवद्र्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराइने तयारी रहेको पनि उनले जनाए । उनले भने, ‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासँग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैँमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रवद्र्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।