सुरुङ्गा । समान नतिजा निकाल्दै आएको अर्जुनधारा नगरपालिकाको टिम झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा बाह्रदशी पालिकाको टिमलाई ४-० गोलले पराजित गर्दै अजुृनधाराले फाइनल यात्रा गरेको हो । अर्जुनधाराले यसअघि दमक र गौरादह नगरपालिकालाई पनि समान ४-० गोलले पराजित गरेको थियो ।
अर्जुनधाराको जीतमा डिफेन्डर प्रमोद चौधरीले खेलको १५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २८औँ मिनेटमा सरोज कार्कीले गोल गरेर अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा थप दुई गोल भएको थियो ।
७० मिनेटको खेलमा अर्जुनधाराका कप्तान पुष्प मादेनले खेलको ४३ र ५८औँ मिनेटमा गोल गर्दै फराकिलो नतिजा निकालेका थिए ।
खेलको म्यान अफ दी म्याच अर्जुनधाराका प्रमोद चौधरी घोषितहुँदै नगद २ हजार पुरस्कार पाउन सफल भए । अर्जुनधाराले मंगलबार बिर्तामोड नगरपालिकाको टिमसँग फाइनल खेल खेल्नेछ ।
कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५५ हजार १११ रुपैयाँ पाउनेछन् ।