झापा । भद्रपुर वडा नम्बर ३ दोस्रो पटक मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बीचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह-आयोजकमा सम्पन्न तीन दिवसीय ‘बिच’ भलिबल प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर ३ दोस्रो पटक च्याम्पियन बनेको हो ।
प्रतियोगिताको च्याम्पियन बनेसँगै वडा नम्बर ३ ले नगद ३० हजारसहित ट्रफी उचालेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ४ ले नगद २० हजारसहित ट्रफी पाएको छ । बेस्ट अफ फाइभको फाइनल खेलमा ३ नम्बरले तीन सेट जितेको थियो भने ४ नम्बरले एक सेटमात्र जित्न सफल भयो ।
३ नम्बरले पहिलो र दोस्रो सेटमा २१-१३, २१-१३ अङ्क ल्याए । तेस्रो सेटमा ४ नम्बरले २१-१८ अङ्क ल्याए । चौथो सेटमा ३ नम्बरले २१-१६ अङ्क ल्याउँदै विजयी भए ।
यता वडा नम्बर ६ तेस्रो भएको छ । तेस्रो स्थान जितेका ६ नम्बरले नगद १० हजारसहित ट्रफी पाएको छ ।
५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको अध्यक्षता तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव हिरण्य न्यौपानेले गरेका थिए ।