धनकुटा । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको टिम नेपालका कप्तान सुजल श्रेष्ठलाई गृह नगर धनकुटामा नगदसहित सम्मान गरिएको छ ।
सागमा नेपाली फुटबल टोलीका कप्तानसमेत रहेका श्रेष्ठलाई बिहीबार धनकुटामा आयोजित एक कार्यक्रमका बीच नगद १ लाखसहित सम्मान गरिएको हो । उनलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले सम्मान गरेका थिए ।
धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित हुलाक टोलका फुटबलर सुजल एन्फा एकाडेमीका उत्पादन हुन् । २८ वर्षीय उनी राष्ट्रिय टोलीका सदस्यसमेत हुन् । उमेर समूहमा एन्फामा छिरेका उनी राष्ट्रिय टोलीको सदस्यमा सन् २०११ समावेश भएका थिए । उनले पोखरामा भुटानसँग भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको सदस्य भएर डेब्यू गरेका थिए ।
एन्फाको चौथो ब्याच यु-१४ को सदस्य भएका उनले यु-१४, यु-१६, यु-१९, यु-२२ र २३ उमेर समूहमा पनि राष्ट्रिय टोलीको सदस्य भएर नेपाली फुटबल खेलेका थिए ।
काठमाडौँको संकटा क्लबबाट व्यावसायिक फुटबल खेलेका उनले मनाङ मस्र्याङ्दी क्लबमा लामो समय बिताएका थिए । संकटामा एक वर्ष रहेका उनले मनाङबाट भने आठ वर्ष फुटबल खेले ।
यस वर्ष जारी सहिद स्मारक लिगमा भने मनाङलाई छाडेर मच्छिन्द्र क्लबसँग आवद्ध भएका छन् । उनी मच्छिन्द्रका कप्तान हुन् ।