काठमाडौं । सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार शीर्ष स्थान बनाएको छ ।
प्रभु बैंक जावलाखेल क्लबलाई १-० ले पराजित गरेपछि १३ अंक बटुलेको मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । त्यहि गोल खेलको निर्णायक बन्यो । टोलीले थप गोलको अवसर पाए पनि सफल भने भएन । १५ औं मिनेटमा मछिन्द्रका रन्जित धिमालको फ्रिकिक बाहिरियो ।
४० औं मिनेटमा रेजिन सुब्बाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । ४३ औं रेजिनले गरेको गोललाई रेफ्रीले अफसाइड लिए । जावलाखेलका लागि २४ औं मिनेटमा हरि कठायतको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोके ।
दोस्रो हाफमा जावलाखेलले मछिन्द्रलाई पुर्ण रुपमा दबाबमा राखे पनि गोल गर्न असमर्थ बन्दा लिगमा पहिलो हार भोग्न बाध्य बन्यो ।
शनिबार नै भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले १० खेलाडीमा सीमित रहँदै यति हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो ।
बराबरी खेलेसँगै मनाङले शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमाएको छ ।
बराबरी १२ अंक भए पनि त्रिभुवन आर्मी क्लबलाई हेड टु हेडमा पछि पार्दै मनाङ दोस्रो स्थानमा उक्लेको छ ।