काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जीत निकालेको छ ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जीतमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राको नाममा रह्यो । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गरेको हो ।
भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए ।
खेलको ६०औं मिनेटमा सन्जोगले व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टार ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७१औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पुरा गरे ।
यससँगै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै सन्जोग बिस २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका हुन् ।
खेलमा सन्जोग म्यान अफ दि म्याच चुनिए । जीतसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ। पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।