काठमाडौं । पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो हाफमा १-० ले पछाडि परेको स्थितिबाट पुनरागमन गर्दै मछिन्द्रले २-१ को जित दर्ता गरेको हो । २१औँ मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठले पञ्च गर्दै बचाए । लगत्तै नवीन लामाको कर्नरमा रमेश दंगालको हेडरलाई बिशालले पञ्च गर्दै बचाए ।
४३औँ मिनेटमा रमेश दंगालले हेडमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाए । राजिव लोप्चनलाई पिटर सेगुनले फउल गरेपछि नवीन लामाले प्रहार गरेको फ्रिकिकलाई रमेश दंगालले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका हुन् ।
दोस्रो हाफको सुरुवातमै मछिन्द्रले खेल बराबरीमा ल्यायो । रञ्जित धिमालको कर्नरमा विशाल राई बीले ६ यार्ड बक्स भित्रबाट हेडरमा गोल गरे । लगत्तै रञ्जितले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक थोरैले बाहिरियो । ५५औँ मिनेटमा बुद्ध चेम्जोङको हेडर एपिएफका गोलरक्षक राजु नगरकोटीले विफल पारे ।
६८औँ मिनेटमा मछिन्द्रको लगातार तीन प्रहारले पोस्टको दिशा लिन सकेन । रञ्जितको प्रहार एपिएफका डिफेन्सले छेकेपछि विशाल राई एले गरेको रिबाउन्ड प्रहार गोलरक्षक राजुले छेके । त्यसकै रिबाउन्डमा विशाल राई बीले गरेको प्रहारलाई राजुले मुस्किलले समाएका थिए ।
खेलको ८०औँ मिनेटमा मछिन्द्रले खेलमा अग्रता लियो । रञ्जित धिमालको पेनाल्टी प्रहारलाई गोलरक्षक राजुले बचाए पनि रिबाउन्डमा रञ्जित गोल गर्न सफल रहे । त्यसअघि कर्नरमा हेड गर्ने क्रममा तोपबहादुर विष्टले पिटर सेगुनलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिएका थिए । खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए ।
यस जीतसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको २० अंक छ र एक खेल कम खेलेको छ । एपिएफ १० खेलमा ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।