सालबारी । झापाको अर्जुनधारा-११ सालबारीस्थित महारानीगञ्ज माविमा रहेको बाल क्लबको आयोजनामा भइरहेको दोस्रो वडाध्यक्ष नगर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा मंगलबारको खेलबाट शनिश्चरे मावि फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको उपाधि दाबेदार मानिएको शनिश्चरे माविले अन्तिम सेमिफाइनल खेलमा सिंहदेवी मावि सिस्नेलाई १-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । शनिश्चरे माविका लागि पुजन श्रेष्ठले खेलको २२ मिनेट गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ दी म्याच सिंह देवी माविका मनोज राई घोषित भए । उनलाई वडा नम्वर ११ का खेलकुद विकास समितिका अध्यक्ष मोसेज खड्काले नगद १ हजार प्रदान गरे ।