सालबारी । अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको बाल क्लबले आयोजना गरेको नगर विद्यालयस्तरीय दोस्रो वडाध्यक्ष कपको उपाधि शनिश्चरे माविले जितेको छ ।
महारानीगञ्ज माविको ६२औँ वार्षिकोत्सवमा आयोजित अध्यक्ष कपमा फाइनल स्पर्धी लक्ष्मी मावि लक्ष्मीपुरलाई ४–० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि रक्षा गरेको हो । उसका लागि पहिलो हाफ र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।
खेलको ५औँ मिनेटमै शनिश्चरेका दिपेश रायाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, १०औँ मिनेटमा निखिल तामाङले गोल गर्दै शनिश्चरेको अग्रता दोब्बर बनाएका थिए ।
एकोहोरो दबाब सिर्जना गरेको शनिश्चरेका लागि खेलको ३४औँ मिनेटमा पुजन श्रेष्ठले गोल गरे भने ४४औँ मिनेटमा केशव खतिवडाले थप गोल गर्दै फराकिलो अन्तरमा टिमको जीत निकाले ।

अर्जुनधारा नगरभित्रका ८ वटा विद्यालय सहभागी प्रतियोगिताको बेस्ट डिफेन्स शनिश्चरेका मनिष मगर घोषित हुँदा उत्कृष्ट गोलकिपर पनि शनिश्चरेकै सन्दीप लिम्बू भए ।
त्यस्तै, महारानीगञ्ज माविका राकेश चौधरी राइजिङ प्लेयर हुँदा बेस्ट फरवार्ड लक्ष्मी माविका सागर मगर भए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी भने शनिश्चरेका निखिल तामाङको नाममा रह्यो ।
विजेता टिमले नगद १५ हजारसहित ट्रफी पाउँदा उपविजेताले १० हजारमा चित्त बुझायो । बाल क्लबकी अध्यक्ष सलमा भारतीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, उपाध्यक्ष मनेष दाहाल, अर्जुनधारा ११ का वडाध्यक्ष भैरव खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकाल र ११ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष मोसेस खड्कालगायतले पुरस्कार प्रदान गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले सञ्चालन गरेको कार्यक्रममा तीन दिनसम्म चलेको विद्यालयको ६२औँ वार्षिकोत्सवमा सहभागी विभिन्न विधाका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा चार सदनका विद्यार्थीले २३ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।