भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भू-भाग कचनकवलमा आजदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए ।
उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटरफाइनलमा प्रवेश गरेको छ । जलथललाई २-१ गोलअन्तरले पराजित गर्दै इलाम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको २६औ मिनेटमा इलामका किस्मत राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ३६औ मिनेटमा राईले थप एक गोल गरे । जलथलका सरोज कार्कीले खेलको ५१औ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफ दी म्याच इलामका किस्मत राई घोषित भए । उनलाई नगद दुई हजारसहित प्रदेश सांसद वसन्त बानियाँले पुरस्कृत गरेका थिए ।
बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद बानिया, ओमप्रकाश सरावगी, गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य क्लबका सल्लाहकार संयोजक रत्नबहादुर बुढाथोकीले राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव शिव गुरुङले गरेका थिए ।
फागुन ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा लागि प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले चार लाख २५ हजार, कचनकवल गाउँपालिकाले तीन लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट सङ्कलन गरिनेछ ।
भ्रमण बर्षलाई सफल बनाउन गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।