झापा । थ्री स्टार क्लबका कप्तान विक्रम लामा सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । विक्रमले ५० हजार रुपैयाँ प्राप्त गरे । आइतबार भएको फाइनलमा विक्रमको टोलीलाई १–० ले हराउँदै सान मिगेल मछिन्द्र क्लबले उपाधि जितेको थियो ।

फागुन ३ गते सम्पन्न कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेयता खेलेको पहिलो प्रतियोगितामा नै मछिन्द्र नकआउट च्याम्पियन बन्न सफल भएको हो । आइतबार विमल घर्तीमगरले तेस्रो मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेपछि मछिन्द्रले उपाधि जितेको हो ।

अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्री स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । त्यसमा विमलले गोल गर्दै टोलीलाई अघि बढाए र अन्ततः त्यही गोल निर्णायक बन्यो । २ गोल गरेका थ्री स्टारकै सञ्जोक राई उच्च गोलकर्ता बने । मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर तथा सोही क्लबका पिटर सेगुन उत्कृष्ट डिफेन्डर चुनिए । थ्री स्टारका रुपेश केसी उत्कृष्ट मिडफिल्ड, मछिन्द्रका रेजिन सुब्बा उत्कृष्ट फरवार्ड र प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक चुनिए । विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

सञ्जोगले सर्वाधिक गोलकर्ता बन्दै २५ हजार रुपैयाँ प्राप्त गरे । उदयीमान खेलाडी चुनिएका आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईले २० हजार रुपैयाँ प्राप्त गरे ।

अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, आयोजक क्लबका अध्यक्ष रमेश लावतीलगायतले विजेता टोली र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे । सताक्षी गोल्डकपको पहिलो संस्करण नेपाल पुलिस क्लब र दोस्रो संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

एन्फा अध्यक्ष शेर्पाले आउँदो संस्करणका लागि सताक्षी गोल्डकपको मुख्य प्रायोजक आफूले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिवसताक्षी नगरपालिका र एन्फाले सताक्षी गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउनेमा वचन दिए ।

एन्फा उपाध्यक्ष नेम्वाङले मोफसलका गोल्डकपलाई एन्फाले आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने बताए ।