धरान । दुई ए डिभजिन क्लब मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगपछि पहिलो पटक शनिबार (आज) एक अर्काविरुद्ध उत्रदैछन् ।
पुलिस र मनाङबीच शनिबार २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बुढासुब्बाको फाइनलमा यी दुई टोली तेस्रो पटक भिड्दैछन् ।
बुढासुब्बाको इतिहासमा पुलिस सर्वाधिक सफल टोलीमध्येको एक हो । पुलिस र थ्री स्टार क्लबले अहिलेसम्म समान ५ पटक बुढासुब्बाको उपाधि जित्दा मनाङले पनि त्यसपछि दोस्रो सफल टोलीका रुपमा तीन पटक उपाधि उचालिसकेको छ । धरान रंगशालमा शनिबार उत्रँदा दुवैको एउटै लक्ष्य उपाधि जित्नु नै हो ।
३ सिनियर सहित युवा खेलाडीको बाहुल्यता रहेको पुलिसले सेमिफाइनलमा उपाधि दाबेदारका रुपमा हेरिएको ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबलाई पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मेची नेत्रालय काकरभिट्टालाई ३–१ ले हराउँदै मछिन्द्रसँगको भेट पक्का गरेको थियो ।
निरन्तर प्रशिक्षणमा रहेको टोलीमा युवा र अनुभवी खेलाडीको साथ रहेकोले उपाधि जित्ने पुलिसका प्रशिक्षक दिनेश गुरुङले दाबी गरे । उनले मनाङ राम्रो टोली भए पनि लिग च्याम्पियन टोलीलाई सेमिफाइनलमा हराउँदै अघि बढेकोले टोलीको मनोबल उच्च रहेको बताए ।
बुढासुब्बामा यस अघि पुलिसले १० पटक फाइनल खेलिसकेको छ । यो पुलिसको ११ औं फाइनल हो । मनाङले भने ४ पटक फाइनल खेल्दा ३ पटक उपाधि जितेको छ । बुढासब्बाको छैटोै र आठौ संस्करणमा मनाडले फाइनलमा पुलिसलाई हराएको थियो । यसपटक लिगमा पनि मनाडले पुलिसलाई २ –० ले हराएको थियो ।
मनाङका प्रशिक्षक तोपे फुजा ले टोली भरपर्दा खेलाडी रहेकाले उपाधि जित्ने विश्वास व्यक्र गरे । ‘हाम्रो टिमवर्क राम्रो छ,’ उनले भने, ‘त्यसकारण पनि हाम्रो मनोबल उच्च छ ।’ मनाङले पहिलो खेलमा बेलबारी फुटबल क्लब र सेमिफाइनलमा भारतको युके एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
धरान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।