दिपक बोहोरा,
इलाम । इलाममा जारी छैटौं माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जीलिङले प्रतिस्पर्धा गर्दैछन् ।

इलामस्थित ठुलो टुँडिखेलमा फाइनल प्रवेशका लागि यी दुई टोली आमने सामने हुने भएका हुन् । दुवै टोली जीतको खोजी गर्दै कम्तिमा ५ लाख सुरक्षित गर्ने दाउमा छन् । नेपालका स्टार खेलाडीहरुको मिश्रणमा बनेको मच्छिन्द्र क्लब लिग जितेको एक सातामै सताक्षी गोल्डकपको उपाधि जितेर उच्च मनोबलका साथ इलाम आएको छ ।

मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा मोफसलको गोर्खा ब्वाइज रुपन्देहीलाइ टाइब्रेकरमा हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

यता मानेभञ्जाङ फुटबल क्लबले मोफसलको चर्चित क्लब झापा ११ लाई २–१ गोलले पाखा लगाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको टिम हो । झापा ११ यस गोल्डकपको दुई संस्करण विजेता पनि हो ।

यसैबीच, सेमिफाइनलका लागि दुवै टिमका प्रशिक्षकहरुले आफ्नो टिम आजको खेलका लागि तयार भइसकेको बताएका छन् ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग पछाडि सताक्षी गोल्डकप र बुढासुब्बा गोल्डकप सहभागी भइसकेको हुँदा टिमवर्क राम्रो हुने दाबी गरे । योगेश गुरुङ, विमल घर्ती, विशाल राई बि ले अग्रपंति सम्हाल्दा देवेन्द्र तामाङले डिफेन्स लाइनको कमान्ड सम्हाल्ने कटुवालले बताए ।

यता मानेभञ्जाङका टिम व्यवस्थापक तेन्जिङ भुटिया पनि आफ्नो टिमले सकारात्मक नतिजा निकाल्नेमा आशावादी रहेको बताए । खेल ५०–५० प्रतिशत हो । ‘हाम्रो टिममा भारतीय यु १४ र १६ वर्षको राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेका छन्, नतिजा राम्रो होला भन्ने आशावादी छु’, भुटियाले भने ।

सिलोङ फुटबल क्लबका चर्चीत खेलाडी लियो र न्युकरको तालमेल मिल्यो भने खेल जित्न सकिन्छ भन्ने आशा रहेको भुटियाले बताए । पहिलो सेमिफाइनल खेल आज ३ बजे ठुलो टुँडिखेलमा हुनेछ ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।