अजय फुयाल,
काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण र त्रास संसारभर फैलिँदा अहिले पूरा विश्व यसबाट आतङ्कित बनेको छ। विश्वका ८० देश तथा भूभागमा फैलिइसकेको कोरोना भाइरस सङ्क्रमण थुप्रै प्रयासका बाबजुद घट्नुको साटो झनै तीव्र गतिमा फैलिइरहेको छ। यही भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २ सय ३ पुगिसकेको छ भने सङ्क्रमितको सङ्ख्या ९३ हजार नाघेको छ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले उच्च जोखिममा रहेका देशहरूको सूची सार्वजनिक गर्दा भौगोलिक रूपमा चीनबाट अत्यन्तै नजिक रहेको नेपाल पनि समेटियो। डब्लुएचओले उच्च जोखिम भएको भन्दै सावधानी अपनाउन आह्वान पनि गर्यो।
लगत्तै नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिएको सन्देश स्वरुप लामो समयको तयारीपछि कार्यान्वयनमा आएको महत्त्वाकांक्षी कार्यक्रम ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगन गर्यो। काठमाडौंमै हुने तय भएको अन्तर्राष्ट्रियस्तरको ‘ह्युमन राइट्स फिल्म फेस्टिभल’ स्थगित गरियो।
उपराष्ट्रपति नन्दबहादुर पुनले ठूला सभा समारोहमा नजाने घोषणा गरिसकेका छन्। सरकारले अत्यावश्यकबाहेक कोरोना भाइरस प्रभावित देशको भ्रमण नगर्न ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ। कोरोना भाइरस बढी प्रभावित चीन, जापान, दक्षिण कोरिया, इरान र इटालीका नागरिकलाई अनअराइभल भिसा स्थगित गरेको छ। ठूलो सङ्ख्यामा मानिसहरूको उपस्थिति हुने कार्यक्रम स्थगनका लागि सरकारले आह्वान गर्नुका साथै विदेश जान नेपालीलाई श्रम स्वीकृति दिनसमेत बन्द गरेको छ।
पक्कै पनि कोरोना भाइरसको आतङ्क तुलनात्मक रूपमा नेपालमा कम देखिन्छ। नेपाल कोरोनाबाट पूर्णरूपमा सुरक्षित भएर नभई पर्याप्त मात्रामा परीक्षण नहुनु र पूरा विश्वलाई नै हलचल पारेको गम्भीर समस्यालाई पनि हल्का रूपमा लिनुको कारण ढुक्कझैँ देखिएको हुन सक्छ।
साँच्चै कोरोनाको सङ्क्रमण देखियो र फैलिन थाल्यो भने हामीसँग त्यसबाट जोगिन आवश्यक पूर्वाधार छैनन्। पर्याप्त मात्रामा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र औषधिमुलो धेरै परको विषय भयो सामान्य मास्कसमेत अहिले नेपालमा अभाव हुन थालिसकेको छ। त्यसैले पनि कोरोनाको सङ्क्रमण आधिकारिक रूपमा नदेखिए पनि डब्लुएचओले दक्षिण एसियाका भारत र पाकिस्तानसँगै नेपाललाई पनि उच्च जोखिमको सूचीमा राखेको हो।
नेपालजस्तो मुलुकले कोरोना भाइरसको सम्भावित खतराबाट जोगिन पर्याप्त मात्रामा सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन्। भइहाल्यो भने ‘रामभरोसा’ भन्नुपर्ने अवस्था चीनबाट फर्काइएका १ सय ७५ जनालाई क्वारेन्टाइनमा राख्दाको महाभारतले प्रमाणित गरिसकेको छ। त्यसैले हुनै नदिन सकिनेजति सबैखाले सावधानी अपनाउनु हाम्रो बाध्यता हो। त्यसमा सरकार पनि सैद्धान्तिक रूपमा सहमत देखिन्छ।
कोरोनाको सङ्क्रमण भएका र नभएका पनि कतिपय देशले सावधानीस्वरूप आवतजावतलाई धेरै हदसम्म निलम्बनमा राखेका छन्। चीन, जापान, दक्षिण कोरिया, इरान, कुवेतलगायतका देशले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेको विद्यालय तथा कलेज बन्दमात्र गरेका छैनन्, ठूलठूला सभा समारोह, खेलकुदका गतिविधि, मनोरञ्जनका कार्यक्रम पनि स्थगन गरेका छन्।
नेपाल सरकारले ढिलै भए पनि सावधानीमा केही निर्णय गरेको छ। तर, तिनको प्रभावकारी कार्यान्वयनचाँहि भएको छैन। खासगरी चीन, जापान, दक्षिण कोरिया, इटाली र मध्यपूर्वका केही मुलुकसहित विश्वका थुप्रै देशले धेरै मानिस जमघट हुने खेलकुदका धेरै गतिविधि निलम्बनमा राखेका छन्।
जापानले त यसअघि दुई पटक विश्वयुद्धका कारण मात्र रोकिएको विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिक नै स्थगित गर्ने सम्भावना छ। यसै वर्षको जुलाईमा आयोजना हुनुपर्ने ओलम्पिक कोरोना भाइरसको सन्त्रास नघटे डिसेम्बरमा सार्ने जापानका उच्च सरकारी अधिकारीले बताउँदै आएका छन्। मेको अन्त्यमा कठोर निर्णय गरिने जापानको खेलकुद मन्त्रालयले बताइसकेको छ।
कोरोनाको उच्च जोखिममा रहेको देश हुनाका बाबजुद नेपाली राष्ट्रिय क्रिकेट टोली भने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अहिले जोखिममा रहेको अर्को देश थाइल्यान्डको भ्रमणमा छ। सरकारले छिमेकी मुलुक चीन र जापानसहित पाँच देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष हेल्थ डेस्कको स्थापना गरेको छ। तर, कीर्तिपुरको मैदानमा एभरेस्ट प्रिमियर लिग ९इपिएल० का लागि झण्डै सयको सङ्ख्यामा खेलाडी तथा हजारौं दर्शक जम्मा पार्ने अभियानको तयारीमा कम्मर कसेर लागेको छ। जहाँ ठूलो सङ्ख्यामा विदेशी खेलाडीकोसमेत उपस्थिति रहनेछ।
फुटबल र भलिबलमा पनि देशैभरि विभिन्न नाममा भएका प्रतियोगिताहरूले हजारौंको सङ्ख्यामा खेलाडी तथा दर्शकलाई एक ठाउँमा भेला पारिरहेका छन्। कोरोना सङ्क्रमणको विरुद्धमा सरकारी प्रयासको नजर नेपाली खेल क्षेत्रमा पनि पर्न जरुरी छ। हामी कोरोना भाइरसको जोखिमबाट पूर्णरूपमा मुक्त भयौं भन्ने पक्का नहुन्जेलसम्मका लागि तत्काल सबैखाले खेल गतिविधिलाई निलम्बनमा राख्नुपर्छ।
बोल्न र सुन्नका लागि खेलकुद गतिविधिमाथिको निलम्बन पक्कै पनि प्रिय शब्दावली होइन। तर, जनता रहे देश रहन्छ, देश रहे खेलकुद रहन्छ। त्यसैले राज्यले अप्रिय सुनिने निर्णय गर्न पनि हिच्किचाउनु हुन्न।
खेलकुदबाटै विश्वस्तरमा देशको झण्डा फहराएका चीन, जापान र इटालीजस्ता देशले पनि नागरिकको स्वास्थ्यप्रतिको जिम्मेवारीस्वरूप कतै पूर्ण तथा कतै आंशिक रूपमा खेलकुद निलम्बनमा राखेका छन्। दक्षिण एसियालीस्तरमै सफलताका लागि सङ्घर्षरत नेपालले यति ठूलो जोखिम सामुन्ने खेलकुदको लक्जरीलाई थाँती राख्न हिच्किचाउनु हुन्न। नेपाल न्यूजबाट