बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा शनिश्चरे फुटबल क्लब अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज (शुक्रबार) भएको खेलमा प्रतिभा फुटबल क्लब चारआली लाई २–१ गोलअन्तरले पराजित गर्दै शनिश्चरेले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

शनिश्चरेको जीतका लागि खेलको ३१औँ मिनेटमा नानी लिम्बुले पहिलो गोल गरे भने खेलको ५८औँ मिनेटमा मुकुल शिवाले दोस्रो गोल गरेका थिए । प्रतिभा फुटबल क्लब चारआलीका तर्फबाट खेलको ६७औँ मिनेटमा जमिन लिम्बुले सान्त्वना गोल गरे ।

प्रतियोगितामा भोलि (शनिबार) मुनाल क्लब चन्द्रगढी र सताक्षी स्पोर्टिङ्ग क्लब झिलझिलेबीच हुुनेछ ।

खेलको म्यान अफ दि म्याच शनिश्चरेका नानी लिम्बु घोषित भए । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताए ।