पोखरा । शनिबार सम्पन्न १८औं आहा१ रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । पोखरा रंगशालामा भएको निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको मनाङले उपाधिसहित नगद १० लाख हात पारेको छ भने उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ । सहारा क्लब, पोखराको आयोजनामा फागुन २२ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको खातामा गएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको छ ।

उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने अजित गोल गर्न असफल भएका थिए । उनको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए ।

प्रतियोगितामा मनाङ अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक उत्कृष्ट रक्षक, नितिन थापा उत्कृष्ट मिडफिल्ड, अन्जन विष्ट उत्कृष्ट फरवार्ड र फुजा टोपे उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

समान २ गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन, रुस्लान थ्री स्टार क्लबका सुशन श्रेष्ठ र आयोजक सहारा क्लबका त्रिदेव गुरुङ उच्च गोलकर्ता बने ।