अमित खम्बू
अर्जुनधारा । झापा अर्जुनधारा–७ स्थित पाराखोपीमा रहेको देवीथान क्षेत्रलाई संरक्षण सम्वद्र्धन गर्न स्थानीयबासी जुटेका छन् ।

१२५ वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमि भएको दाबी गरिएको उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले उनीहरु जुटेका हुन् । हाल जलथल निवासी कल्पना काफ्लेलाई त्यस क्षेत्रमा हालसम्म पनि देवीको बास निरन्तर रहेको र देवीको दैनिक पूजाअर्चना गर्नाले सबैको कल्याण हुने दैविक भविष्यवाणी भएकोबारे जानकारी पाएपछि आफूहरुले अभियान सुरु गरी संरक्षणमा जुटेको अभियन्ता रोशन नेम्वाङ बताउँछन् ।

अभियानको पहिलो चरणअन्तर्गत दिउँसै हिँडडुल गर्दा डर लाग्ने अवस्थामा रहेको देवीथान क्षेत्रको झाडी सरसफाइसँगै त्यहाँ रहेका बोटबिरुवाहरुमा सबै मिलेर रंगरोहन गरेपछि आकर्षक धार्मिक स्थलको रुपमा रुपान्तरण भएको प्रतिक्रिया सबैबाट पाएको अभियन्ता नेम्वाङले बताए ।

विगतमा पनि स्थानीय युवाको समूह गठन गरी त्यस क्षेत्रको संरक्षणसँगै पूजाअर्चना गर्दै गरेकोमा पछि अचानक बन्द गर्नुपरेको अभियन्ता नेम्वाङले जानकारी दिए । ‘हिजो जे भयो अब सबै मिलेर देवीथान क्षेत्रलाई संरक्षण गर्न कम्मर कसेर लाग्नेछौं’, उनले भने ।

त्यसैगरी जग्गाधनीहरु इन्द्रजित चौधरी, चन्द्रबहादुर तामाङ र मोहनकृष्ण ढकाल उक्त क्षेत्रका लागि आवश्यक जग्गा र बाटो दिन सकारात्मक भएपछि आफूहरुलाई थप उर्जा प्राप्त भएको अर्का अभियन्ता राजेन्द्र काफ्लेले बताए । कंक्रिट पूर्वाधार निर्माण नगरी प्राकृतिक अवस्थामा त्यस क्षेत्रलाई जिल्लाकै ‘नमूना देवीथान’ बनाउने आफूहरुको लक्ष्य रहेको अभियन्ता काफ्ले बताउँछन् ।

उक्त क्षेत्रको विषयमा आवश्यक धार्मिक विज्ञहरुसँग परामर्श भइरहेको र आगामी मंसिरे पूर्णेका दिन विधिवत्रुपमा पूजाको आयोजना गरी देवीथानको उद्घाटनसँगै देवीको नामाकरण हुने उनले बताए ।

बुबाको संकल्प अनुसार आफ्नो पहिलेदेखिको इच्छा हुँदाहुँदै पनि काम सुरु गर्न नसकिरहेको अवस्थामा देवीथानको संरक्षणमा सबै गाउँले जुटेकोमा जग्गाधनी चौधरीले खुसी व्यक्त गरे । त्यस्तै गाउँटोलमा यसरी देवीथानको संरक्षणमा स्थानीय जुट्नु राम्रो कार्यको थालनी भएको बताउँदै यसलाई निरन्तरता दिन वडा समितिको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने वडा नम्बर–७ का वडाध्यक्ष नवराम ढुंगानाले बताए ।

यसैबीच स्थानीयको भेलाबाट देवीथानको संरक्षण गर्न अभियन्ता काफ्लेको अध्यक्षतामा १५ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा प्रमिला मगर, सचिवमा रोशन नेम्वाङ, सहसचिवमा अशोक बान्तवा र कोषाध्यक्षमा गंगा धिमाल चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यमा कल्पना सुब्बा, घनश्याम कार्की, घनश्याम मगर, चिडीबहादुर प्रधान, नगेन्द्र मगर, निरु बाँस्तोला, प्रेमराज गिरी, यामप्रसाद सञ्जेल, लालबहादुर धिमाल र सुरेश गिरी रहेका छन् ।

जग्गादातात्रय चौधरी, तामाङ र ढकाल संरक्षक रहेको समितिको सल्लाहकारहरुमा वडाध्यक्ष ढुंगाना, वडा समितिका सदस्यद्वय ऐतराज नेम्वाङ र गोमा पर्वते, अमित खम्बू, इन्द्रबहादुर मगर, कमल पोखरेल, राजन धिमाल, रामबहादुर श्रेष्ठ र लक्ष्मी कार्की रहेका छन् । जग्गाधनी ढकालको अध्यक्षता र वडाध्यक्ष ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित भेलाको औचित्य अध्यक्ष काफ्लेले गरेका थिए ।