बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको बुधबार एक कार्यक्रमका बीच बिर्तामोडमा सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ ।

छ महिनाअगाडि बिर्तामोडका ऊर्जाशील युवा मिलेर गठन भएको क्लबलाई अन्तर्राष्ट्रिय लायन्सले हालै मान्यता प्रदान गरेपछि क्लबका ३२५ ए१ का डिस्ट्रिक गभर्नर अनन्तप्रसाद भेटवालले सपथ खुवाएका थिए । २५ सदस्यीय क्लबमा बिर्तामोड क्षेत्रका व्यवसायी, शिक्षासेवी, पत्रकारलगायत सदस्य छन् । लयान्स क्लब अफ कनकाई सुरुङ्गा मातृ शाखाको रुपमा रहेको छ ।

व्यवसायी निरज ओलीको अध्यक्षतामा गठन भएको क्लबले शपथअघि नै दुईवटा परोपकारी काम गरिसकेको छ । बिर्तामोड ३ मा रहेको मुसहर परिवारलाई खाद्यान्न वितरण गरेको थियो भने बिर्तामोडमै रक्तदान कार्यक्रम गरेको थियो ।

क्लबका अध्यक्ष रुपनारायण खतिवडाको अध्यक्षताका भएको कार्यक्रममा प्रमुख अतिथि भेटवालले क्लबको नारा ‘हामी सेवा गर्छौं’ भन्ने मान्यताभित्र रहेर सबैले निःस्वार्थ सेवा गर्नुपर्ने बताए । त्यस्तै, नेपालमा मानिसको छाला अभावमा बर्सेनि सयभन्दा बढीले अकालमा ज्यान गुमाउनु परेकाले छाला दान गर्न उनले आग्रह गरे । जलेका मानिसको उपचारमा आवश्यक पर्ने छाला नेपालमा नहुँदा भारतबाट महँगो मूल्यमा ल्याउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । लायन्सकै अगुवाई काठमाडौँमा छाला बैंक सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य जसमाया गजमेरले लायन्सजस्ता क्लबमा महिला सहभागिता बढाउनुपर्ने उल्लेख गरिन् । शपथ कार्यक्रममा बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, लायन्सका रिजनल चियरपर्सन लीलाप्रसाद चिमरिया, निवर्तमान डिस्ट्रिक गभर्नर लीला ढुंगेल, देवी माविका अध्यक्ष ज्ञानुराम प्रसाईं, बलराम कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रथम उपाध्यक्ष घनश्याम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कनकाई सुरुङ्गा र बिर्तामोड सिटीका सचिव साजन थापा र भीष्म पौडेलले गरेका थिए ।