0 Shares

पाँचथर ।फिदिम नगर र खेल क्षेत्रमा कलम चलाउने पाँचथरका दुई पत्रकार पुरस्कृत हुने भएका छन् ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शिफारिसमा फिदिम नगर क्षेत्रको समृद्धिका लागि कलम चलाउने पत्रकार कृष्ण ओझा पुरस्कृत हुने भएका हुन् । त्यस्तै स्वर्गिय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार सरोज शर्मा पुरस्कृत हुने भएका हुन् ।

फिदिम नगर क्षेत्रको समृद्धिका लागि कलम चलाउने एक जना क्रियाशील पत्रकारलाई फिदिम नगरपालिकाले बार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । त्यस्तै स्वर्गिय बाबु–आमाको स्मृतिमा फिदिमका व्यवसायी दीपक नेपालको परिवारले स्थापना गरेको स्वर्गिय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार खेलकुद क्षेत्रको बिकासका लागि उत्कृष्ट कलम चलाउने एक जना पत्रकारलाई बार्षिक रुपमा प्रदान गरिंदै आएको छ ।

दुबै पुरस्कार नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सिफारिसमा वितरण गरिंदै आएको हो । महासंघको मंगलबार बसेको कार्य समिति बैठकले उक्त निर्णय गरेको शाखा अध्यक्ष लवदेब ढुङ्गानाले बताए । दुबै पुरस्कारको राशी समान दश–दश हजार रुपैंयाँ रहेको छ ।

खेलकुद पुरस्कारबाट यसअघि पत्रकार बिप्लव भट्राई, भिमकुमार बाँस्कोटा, लक्ष्मी गौतम र गणेश साम्पाङ पुरस्कृत भइसकेका छन । नगर पत्रकारिता पुरस्कारबाट यस अघि पत्रकार नारायण तुम्बापो, बिपेन्द्र गौतम र शन्देश सुब्बा पुरस्कृत भइसकेका छन । पाँचथरको फिदिममा जारी १० औ फाल्गुन्नद गोल्डकपको समापनका अवसरमा खेलकुद तर्फको पुरस्कार बितरण हुने बताइएको छ भने नगर तर्फको पुरस्कार नगरसभाको समयमा बितरण गर्ने तयारी गरिएको छ ।