खुदुनाबारी । अर्जुनधारा नगरपालिकाको वडा नम्बर १ मा पर्ने विरिङ र टाङटिङ नदीबाट मेसिन प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन् गरेको विरोधमा नेकपा वडा कमिटीले बिहीबार वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको जनभावनाविपरीत उत्खनन् कार्य पुनः सुरु गरिएको भन्दै नेकपा वडा कमिटीले उत्खनन् कार्य तत्काल बन्द गर्न वडाध्यक्ष गजाधर खतिवडामार्फत् नगरपालिकालाई ध्यानाकर्षण गराउँदै तालाबन्दी गरेको हो ।

कमिटीका अध्यक्ष भक्तिप्रसाद कोइराला र सचिव विजेन्द्र एक्तेनले संयुक्तरुपमा हस्ताक्षर गरी अर्जुनधारा नगरपालिकाको कार्यालयलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा उत्खनन् कार्य बन्द नभइञ्जेल अनिश्चितकालीन तालाबन्दी गरिएको उल्लेख छ ।

नदीजन्य सामग्रीहरु उत्खनन्मा मेसिन प्रयोग गरेका कारण स्थानीय गाउँबस्ती सुख्खा मरुभूमिमा रुपान्तरण हुँदै गएको, खेतीयोग्य जमिन बाँझो बनेको, खानेपानीको मुहान सुक्दै गएको नेपाली कांग्रेस वडा समितिका सचिव उपेन्द्र बस्नेतले बताए । यस अघि कांग्रेस वडा समिति र खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तर्फबाट नगरपालिकालाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको सचिव बस्नेतले बताए ।

गत वर्ष स्थानीयहरुको आन्दोलनपश्चात् त्यस क्षेत्रमा उत्खनन् कार्य रोकिएको थियो । यसवर्ष भने नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदनअनुसार कुन क्षेत्रमा कति उत्खनन् गर्न मिल्ने र नमिल्ने मापदण्ड तयार गरी हार्डबिटमार्फत् चालु आर्थिक वर्षमा दुई करोड ६१ लाखमा लगाएको ठेक्का सम्झौता अनुसार ठेकेदारले बुधबारदेखि उत्खनन् कार्य सुरु गरेको हो ।

यसैबीच, नगररपालिका प्रमुख हरिकुमार रानाले वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोजिने बताए । तालाबन्दीका कारण सर्वसाधारणले दुःख पाउने उनको भनाइ छ ।